सुनसरीको आरएन्डआर एग्रोले काभ्रे र भक्तपुरमा खोल्यो ‘द फिस किंग्स’

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : ५५


काभ्रेको बनेपा र भक्तपुरको देकोचामा दुईवटा आउटलेट खोल्दै सुनसरीको आरएन्डआर एग्रो प्रालिले आफ्नो उत्पादनलाई बजारीकरण गर्न सुरु गरेको छ। स्वस्थ, अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउने उद्देश्यले अत्याधुनिक स्तरको खाने माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।

कम्पनीले अहिले सुनसरीको इनरुवा, इटहरी, बलाहा, मोरङको तकिया, झोराहट र बर्जुमा करिब १२५ बिघा क्षेत्रफलमा माछापालन गरिरहेको छ। कम्पनीले ‘द फिश किङ्ग’को आउटलेट उपत्यका आसपास बनेपा र भक्तपुरमा सुरुवात गरेको हो।

माछाको बजारको प्रमुख हिस्सा ओगटेको भारतीय माछालाई नेपाली उत्पादनले प्रतिस्थापन गर्दै अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्याउने प्रमुख लक्ष्य रहेको कम्पनीका सीईओ सुबोध पोखरेलले जानकारी दिए। रोहु, कमन कार्प, बिग हेड, ग्रास, पन्गास ‘जल कपुर’, टिलापिया जातको जिउदो तथा फ्रेश माछा उपलब्ध हुने उनले बताए।

आउटलेटमा माछा किन्न आउने ग्राहकवर्गले सफा र ताजा माछाका साथै अन्तर्राष्ट्रियस्तरको स्वच्छता र गुणस्तर प्राप्त गर्ने दाबी गरे। द फिस किङ्गको आउटलेट भक्तपुरको ठिमी, काठमाडौँको बानेश्वर, बल्खु र डिल्लीबजार पिपलबोटमा गरी अन्य ४ वटा आउटलेट चाँडै नै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष राम पौडेलले बताए।

द फिश किङ्गलाई ब्रान्ड बनाउदै दशैँ अगाडि दश विभिन्न स्थानमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।


प्रतिक्रिया दिनुहोस्