पन्जसिरका लडाकुले युद्ध गर्ने भनेपछि तालिबानले भन्योः हामी आफ्ना भाइहरुसँग वार्ता गर्छौं

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : ३७


तालिबान लडाकुले अफगानिस्तानको अधिकाँश भू–भाग आफ्नो नियन्त्रणमा लिइसकेको छ। तर एउटा प्रान्तले भने तालिबानविरुद्ध युद्ध गर्ने वाचा गरेको छ। तालिबानले अफगानिस्तानमा सरकार बनाउने तयारी गरिरहँदा पन्जसिर प्रान्तले भने तालिबानको प्रतिवाद गरिरहेको हो।

पन्जसिरका नेसनल रजिस्टेन्स फ्रन्ट एनआरएफ लडाकुले आफ्नो माग पुरा नभएको खण्डमा तालिबानविरुद्ध आफूहरु युद्धको लागि तयार भएको बताएको छ। आफूहरुसँग पर्याप्त हतियार भएको पनि पन्जसिरका लडाकुको भनाइ छ। यो क्षेत्र सन् १९९६ देखि सन् २००१ सम्मको तालिबान शासनमा पनि तालिबानको हातमा जान सकेको थिएन। यसअघि हालै पन्जसिर घेराउ गर्न गएका ३ सय तालिबानीको एनआरएफको कारवाहीमा मृत्यु भएको थियो।

यसबीचमा तालिबानहरु एनआरएफसँग वार्ताको लागि तयार भएका हुन्। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले मंगलबार पंजसिरका लडाकुलाई आफ्नै दाजु–भाई भएको बताउँदै वार्ताको आह्वान गरेका हुन्। उनले भनेका छन्,‘हामी पन्जसिरका आफ्ना भाइहरुसँग वार्ताको लागि तयार छौं। उनका अनुसार पन्जसिरका मानिसहरुसँग केही गुनासा छन् जुन छलफलबाट टुंगो लगाउन सकिन्छ।

अंग्रेजी पत्रिका ट्रिब्युनका अनुसार तालिबानले एनआरएफको गुनासो बुझ्न प्रतिनिधिमण्डल गठन गरेको छ। तालिबानको साँस्कृतिक आयोगका एक सदस्य मुफ्ती अनामुल्ला समांगानीका अनुसार छलफलको लागि प्रयास जारी राखिएको छ।

तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो। यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्। जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको हो। माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ।

यो पनिः तालिबानसँग कहिल्यै नहारेको पन्जसिरले यसपटक घुँडा टेक्ला त? (पन्जसिरको कथा)

-पन्जसिरमा बाल लडाकु जो तालिबानविरुद्धको युद्धमा होमिएका छन्

 


प्रतिक्रिया दिनुहोस्