माधव नेपालको पक्षमा २० प्रतिशत सांसद रहेको नेतृ झाँक्रीको दाबी

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ५५


काठमाडौं । एमालेबाट अलग्गिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन।

सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार नयाँ पार्टी दर्ताका लागि माधव नेपाल पक्षलाई २० प्रतिशत सांसद ( ३१ जना) खाँचो छ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि हालसम्म नेपालको पक्षमा २९ जना सांसदको मात्रै हस्ताक्षर आयोगमा पुगेको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव पक्षलाई नै आफ्नो साथ रहने बताएका छन। तर दिल्लीमा उपचाररत खनाल र अर्का एक सांसद हस्ताक्षर आयोगमा पुग्न नसकेपछि माधव नेपालपाई २० प्रतिशत सांसद पुर्‍याउन सकस भएको हो।

नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले भने भोलि हुने दलको सनाखतमा आफूहरुको संख्या पुग्ने बताएकी छन। सामाजिक सञ्जालमा उनले लेखेकी छन, ‘कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन।’

निर्वाचित केन्द्रीय कमिटी सदस्य र सांसदको संख्या पनि निवेदन दर्ताको दिनभन्दा अझ बढेको उनले दाबी गरेकी छन्।

अब सनाखत गर्न भोलि बुधबार निर्वाचन आयोग जाने कार्यक्रम रहेको जानकारी पनि दिएकी छन्।

‘पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्युनिस्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा छौं,’ नेता झाँक्रीले लेखेकी छन्, ‘हामी भोलि निर्वाचन आयोगमा सनाखत गर्नेछौं। बाहिर चलेजस्तो कानुनबमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन।’


प्रतिक्रिया दिनुहोस्