तालिबानले अमेरिकीलाई यसै महिना देश छाड्न भनेपछि सीआईएका प्रमुख काबुलमा

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ०९


तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानस्थित विदेशी नागरिकहरुको उद्धार कार्य जारी छ। सोमबार मात्र तालिबानले अमेरिकी नागरिक र सेनाहरु यसै महिनाको अन्तिम अर्थात् अगष्ट ३१ भित्र आफ्नो देश फर्किसक्नुपर्ने नभए आफूले कडा कदम चाल्नुपर्ने अवस्था आउने चेतावनी दिएको थियो।

तर अमेरिकालाई यतिबेला उसका सहयोगी राष्ट्रले समय लम्ब्याउन दबाब दिइरहेका छन्। तालिबानले चेतावनी दिइरहँदा सो समयसम्म उद्धार कार्य सम्पन्न नुहने अन्य राष्ट्रले बताइरहेका छन्। यसबीचमा अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक विलियम बर्न्स सोमबार काबुल पुगेर तालिबानका प्रतिनिधिलाई भेटघाट गरेको समाचार आएको छ।

वासिङ्टन पोस्टका अनुसार बर्न्सले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल गनी बरादरसँग भेटघाट गरेका हुन्। बर्न्स सुटुक्क काबुल गएको र उनीहरूबीच गोप्य भेटवार्ता भएको बताइएको छ। बरादर ती तालिबान नेता हुन् जो अफगानिस्तानको नयाँ राष्ट्रपति बन्ने चर्चा चलिरहेको छ।

बर्न्सले त्यहाँ उद्धारको समय लम्ब्याउन तालिबानसँग आग्रह गरेको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्