तालिबान लगातार सुधारवादी छवि देखाउन खोज्दै, खिचाए क्रिकेट खेलाडीसँग तस्बिर

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ४५


अफगानिस्तान कब्जा गरेपछि तालिबानले लगातार आफ्नो सुधारवादी छवि देखाउने प्रयास गरिरहेको छ। यसबीचमा तालिबानले आफू खेल विरोधी होइन भनेर देखाउन खोजेको छ। तालिबालने आफ्नो ट्विटर अकाउन्टमा आफ्ना नेता र राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित तस्बिर पोस्ट गरेका छन्।

ट्विटमा भनिएको छ,‘इस्लामिक इमाइरेट्सका राजनीतिक ब्युरो सदस्य अनस हक्कानीले राजधानी काबुलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तानसँग भेटघाट गर्नुभयो। उहाँहरुले भविष्यको कार्यक्रम टोलीको प्रदर्शन र गुणस्तर बृद्धि गर्नुपर्नेमा छलफल गर्नुभयो।’ सामाजिक संजालमा क्रिकेट टोलीको कप्तान खुलाइएको छैन तर उनको नाम हशमतुल्लाह शाहिदी भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

सन् १९९६ देखि २००१ को समयमा जब तालिबान सत्तामा थिए त्यसबेला अफगानिस्तानमा खेल आयोजनामा कडा प्रतिबन्ध लागेको थियो। अफगानिस्तान क्रिकेट बोर्डले हालै तालिबान सत्तामा आए राष्ट्रिय महिला क्रिकेट टोलीको गठनको योजना रोकिने आशंका गरेको थियो। १५ अगष्टमा जब तालिबानले काबुल कब्जा गरे तब महिला खेलाडीहरुले त्यहाँबाट भाग्ने मनसाय बनाएका थिए।

तर तालिबालने महिलाहरुलाई अधिकार दिइने र पहिलेजस्तो कठोर नहुने बताएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्