राहत सामग्रीमा भ्रष्टाचार गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजाय

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ५१


जाकार्ता । इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ।

कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो।

पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरु रहेको जनाएको छ।

अनियमितताको आशङ्का र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उहाँले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो।

उहाँलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताउनुभएको छ।

इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ। धेरै राजनीतिक नेताहरु अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन्। त्यसैगरी दण्ड सजय पनि धेरैलाई हुने गरेको छ।

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्