दुई सांसद पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न दिदैनौँ : एमाले

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ४६


नेकपा (एमाले)ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ।

आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दोहोर्याएको हो।

सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र दुई सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उनले बताए।

यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो।

सभामुखले भने, “कारवाही गर्न नमिल्ने जवाफ फर्काउनुभएको थियो। सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो।”

भदौ १ गतेदेखि नवौँ अधिवेशन शुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस्