माधव नेपालको साथ छाड्ने नेताहरु ओली भेट्न बालकोट पुगे

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ११ : ५२


अन्तिम समयमा आएर माधव नेपालको साथ छाड्ने केही शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका छन्। नयाँ पार्टी गठनको समयमा नेपालको साथ छाड्ने एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका हुन्।

नेपाललाई साथ नदिएका यी नेताहरुले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयनको घोषणा गर्न ओलीलाई समय दिएका छन्। अन्यथा आफूहरू दल रोज्न स्वतन्त्र हुने उनीहरुको चेतावनी छ।

उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गरेका छन् भने उनीहरुले नयाँ पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह पनि गरेका छन्।

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ। सरकारले दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएपछि नेपाल पक्षले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्