झापाको कन्काईमा श्रीमान–श्रीमती र ८ महिने शिशु झुन्डिएको अवस्थामा फेला

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ५८


झापामा ८ महिने शिशुसहित उनको आमा–बुबा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। कन्काइ नगरपालिका–१ रमाइलो टोलमा शिशुसहित ३ जना झुन्डिएको भेटिएको झापा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले झुन्डिएर आत्महत्या गरेको हुनसक्छन्।

४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दिएको जानकारीअनुसार मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौँसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएका थिए।

स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए। आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्