जापानले अनुदानमा दिएको थप ६ लाख डोज खोप आज आइपुग्दै

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : ००


जापानले नेपाललाई अनुदानमा दिएको करिब ६ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दैछ।

खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत् आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

यसअघि शनिबार २ लाख डोज खोप ल्याइएको थियो। यस्तै, साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो।

जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको छ। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्