म्याग्दीका तालतलैयामा जनैपूर्णिमाको अवसरमा पूजाआजा

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : ५६


म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयामा आज जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजा भएको छ।

अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छीबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगङ्गाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पूजाआजा भएको हो।

ताल भएका र छिमेकी गाउँका बासिन्दा पूजाआजाका लागि पुगेका थिए। पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण न्यून सङ्ख्यामा भक्तजनको उपस्थितिमा पूजाआजा भएको छ । अन्नपूर्ण हिमालको दक्षिणी मोहडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६६० मिटरको उचाइमा रहेको खयर भारानी तालमा विगतका भन्दा कम भक्तजनको उपस्थितिमा पूजा सञ्चालन भएको वडा सदस्य धनबहादुर पाइजाले बताउनुभयो। त्यहाँ तीन सयभन्दा बढी भक्तजन पुगेका थिए।

जनै पूर्णिमाका दिन म्याग्दीका तालतलैयामा रहेका थानमा दर्शन, पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

रिखार र खयरबाराहीको दर्शनका लागि दुई दिनको उकालो पैदलयात्रा गरेर भक्तजनहरु त्यहाँ पुगेका थिए। भाकल गरेको पूरा भएमा त्यहाँ गएर पूजाआजा गर्ने र बलि चढाउने चलन छ।

खयरबाराहीका साथै म्याग्दीको राम्चेस्थित नाङ्गीबाराही, हिस्तानको प्यारी बाराही, शिखको कान्छी बाराहीलगायत तलाउहरुमा पनि जनैपूर्णिमाका अवसरमा पूजाआजा गरिएको छ।

कोरोना महामारी फैलिन नदिन भक्तजनलाई मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गराउनाका साथै भीड हुन नदिएको पूजा व्यवस्थापन समितिहरुले जनाएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्