काबुल एयरपोर्टमा आइएसले आक्रमण गर्ने डर, अमेरिकाले जारी गर्यो चेतावनी

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : २२


काबुल । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नआउन चेतावनी दिएको छ।

अफगानिस्तान स्थित चरमपन्थी इस्लामिक समूह आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सजग गराएको हो।

बीबीसीका अनुसार शनिबार विज्ञप्ति जारी गरी अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सजग रहन भनेको छ।

अमेरिकी सरकारका प्रतिनिधिको साथमा मात्र यात्रा गर्न भनिएको छ।

अमेरिकी सुरक्षा अधिकारीले त्यस्तो खतरालाई आफूले निगरानी गरिरहेको र वैकल्पिक बाटोको खोजीमा रहेको बताएका छन्।

तालिबानले सत्ताकब्जा गरेपछि हाल एयरपोर्टमा देश छाड्नेहरुको भिड छ। त्यस क्रममा त्यहाँ हिंसाका घटना पनि भइरहेको खबर आइरहेका छन्।

एयरपोर्टको टर्मिनल बाहिर लगातार हंगामा मच्चिएपछि अमेरिकाले शनिबार यो सल्लाह जारी गरेको छ।

बेलायती रक्षा मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ८ जनाको मृत्यु भइसकेको छ।

शनिबार एक पत्रकार सम्मेलनका क्रममा अमेरिकी रक्षा विभागले हालसम्म १७ हजार मानिसले काबुल छाडेको र त्यहाँ बाट २५०० अमेरिकीलाई पनि एयरपोर्ट बाट निकालीएको बताएका थिए।एजेन्सी


प्रतिक्रिया दिनुहोस्