काबुल एयरपोर्टबाट १५० भारतीयलाई तालिबानले अपहरण गरेपछि…

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ४ : ०३


अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार १५० भारतीय नागरिकलाई केहीबेर तालिबान लडाकुले अपहरण गरेका छन्। तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाड्ने चाहने विदेशी नागरिक सबैलाई स्वदेश फर्कन दिने बताएको छ।

सोही कारण भारतीयसहित धेरै देशका नागरिकले अफगानिस्तान छाडिरहेका छन्। भारतीय संचारमाध्यम एनडीटीभीका अनुसार आज शनिबार भारत फर्कन लागेका १५० भारतीयलाई तालिबानले केहीबेर नियन्त्रणमा लिएका थिए। यद्यपी यतिबेला सबै भारतीय सुरक्षित भएको बताइएको छ।

तालिबानले सबैको राहदानी हेरेपछि उनीहरुलाई छाडेको बताइएको छ। भारतीय अपहरणमा परेको खबरसँगै भारत लगायत अन्तर्राष्ट्रिय समुदायले भारतीयलाई छाड्न तालिबानलाई दबाब दिएका थिए। तालिबानका प्रवक्ता अहमेदुल्लाह वासेकले भने भारतीयलाई अपहरण गरेको विषय झुठो भएको बताएका छन्।

यसअघि अमेरिका फर्कन लागेका अमेरिकी नागरिकलाई तालिबानले बाटोका कुटपिट गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका थिए। भारतीयमाथि पनि हातपात भएको आशंका गरिएको छ। यद्यपी स्रोतलाई उदृत गर्दै एनडीटीभीले भारतीयहरु सबै विमानस्थल फर्किसकेको जनाएको छ।

यसअघि तालिबानले भारतसँगको व्यापार बन्द गरेको थियो भने तालिबानले चीनसँगको सम्बन्धलाई बढावा दिएको छ। हालैमात्र तालिबानहरु भारतीय दूतावासमा घुसेको खबर पनि आएको थियो।


प्रतिक्रिया दिनुहोस्