माधव नेपाल पक्षका युवाहरुले गरे त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  २ : २२


काठमाडौं । माधव नेपालको पक्षमा उभिदै आएको राष्ट्रिय युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पनि सफाई गरेको छ।

‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान संचालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो।

राष्ट्रप्रतिको युवाहरुको दायित्वबोध गराउन आफूहरुले स्वयमसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरुमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खम भण्डारी शाहीले जानकारी दिए।

उनले राष्ट्र निर्माणको अभियानमा स्वयमसेवी ढंगले अघि बढन पनि सबै युवाहरुलाई आह्वान गरे। नेता भण्डारीले भने, ‘हाम्रो समाजमा जुन सचेत युवाहरु छन। सक्रीय युवाहरु छन। उनीहरुलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन कम्तिमा पनि महिनाको २ दिन २ घण्टा राष्ट्र निर्माणका लागि स्वयम्सेवी ढंगले योगदान गर्न प्रेरित गर्ने गरी यो अभियान सुरु गरेका छौं। म राष्ट्र निर्माणको यो अभियानमा सबै युवाहरुलाई सहभागी हुन आह्वान गर्दछु।’

पिपुल्स भोलेन्टियर्सले यस अघि काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाई गरेको थियो।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरुको पंक्ति ठूलो भएकाले उनीहरु संलग्न संस्थाहरुको सफाई अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरुले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाई छ।


फाइल फोटो


प्रतिक्रिया दिनुहोस्