अमेरिकी रक्षा प्रणालीलाई परास्त गर्नसक्ने आणविक क्षेप्यास्त्र ‘स्काइफल’ परीक्षण गर्दै रुस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : २२


रुसले अमेरिकी रक्षा प्रणालीलाई मात खुवाउनसक्ने ‘स्काइफल’ नामक आणविक क्षेप्यास्त्र परीक्षण गर्न लागेको देखिएको छ। सीएनएनले प्राप्त गरेको भू–उपग्रहका तस्बिरहरुमा रुसले स्काइफल क्रुज मिसाइल परीक्षणको तयारी थालेको देखिएको छ।

यो आणविक हतियार विवादस्पद मानिन्छ किनभने यो अमेरिकाको रक्षा प्रणाली लक्षित गरि बनाइएको हतियार भएको विज्ञहरुको बुझाई छ। रुसी यस क्षेप्यास्त्रले अमेरिकी रक्षा प्रणालीलाई परास्त गर्नसक्ने बताइन्छ।

भू–उपग्रहसँग सम्बन्धित कम्पनी क्यापेल्ला स्पेसले अगष्ट १५ मा खिचेको तस्बिरमा रुसले ‘आणविक हतियार सम्पन्न क्रुज क्षेप्यास्त्र’ परीक्षणको तयारी थालेको प्रस्टै देख्न सकिने मिडिलब्युरी इन्स्टिट्युट अफ इन्टरनेसनल स्टडिज सेन्टरले जनाएको छ। रुसले क्षेप्यास्त्र परीक्षण गर्न लागेको स्थान आर्सिटीक रेखा नजिक भएको बताइएको छ।

सीएनएनका अनुसार अमेरिकी प्रशासन पनि रुसी क्षेप्यास्त्र परीक्षणको विषयमा सचेत छन्। अर्को क्षेप्यास्त्र परीक्षणको नाम रुसीहरुले ‘बुरेभेस्ततिक’ राखेका छन्। यो अत्याधुनिक हतियार कार्यक्रम हो। सीएनएनले यो विषयमा प्रश्न राख्दा अमेरिकी केन्द्रिय अनुसन्धान विभाग र रुसी रक्षा मन्त्रालयले भने केही जानकारी दिएनन्।

पछिल्लो समय अमेरिका, रुस तथा चीनजस्ता शक्ति राष्ट्रबीच हतियार विकासको होड चलेको देखिएको छ। यसबीचमा रुसले अमेरिकी रक्षा प्रणालीलाई नै परास्त गर्नसक्ने हतियार बनाएको खबर आएको हो। हालै चीनले पनि सयौं ‘मिसाइल साइलो’ बनाएको खबरले अमेरिका चिन्तित भएको खबर आएको थियो।

चीनले सयौं ‘मिसाइल साइलो’ बनाएको खबरपछि अमेरिका चिन्तामाचीनले पनि बनाइरहेछ ‘मिसाइल साइलो’

अमेरिकी पत्रिका वासिङ्टन पोस्टको खबरमा चीनले आफ्नो पश्चिमी गान्सु प्रान्तको मरुभूमिमा सयौंको संख्यामा क्षेप्यास्त्र भण्डारन गर्ने ‘मिसाइल साइलो’ बनाइरहेको दाबी गरेको थियो।

उक्त खबरसँगै अमेरिकाले प्रतिक्रिया जनाउँदै भनेको थियो,‘चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय हो। चीनले यस विषयमा अमेरिकासँग छलफल गर्नुपर्दछ।’ अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ‘असन्तुलित हतियार प्रतिस्पर्धा’को व्यावहारिक समाधानका लागि चीनले अमेरिकासँग छलफल गर्नुपर्नेमा जोड दिएका थिए।

ग्लोबल टाइम्सका अनुसार चीनले सामान्यतया अन्तरमहादेशीय क्षेप्यास्त्र राख्न मिसाइल साइलोको प्रयोग गर्दछ। यस्ता क्षेप्यास्त्र लामो दुरीसम्म गएर मार हान्नसक्ने क्षमताका हुन्छन्। यस्ता हतियारमा भारी परमाणु अस्त्रको जडान हुन्छ। साइलोमा क्षेप्यास्त्रको मर्मत र निगरानी गर्न सकिन्छ। चाहिएको खण्डमा यहाँबाट क्षेप्यास्त्र प्रहार पनि गर्न सकिन्छ।

वासिङ्टन पोस्टको रिपोर्टमा चीनको गान्सु प्रान्तको युमेन शहरको मरुभूमिमा ११९ क्षेप्यास्त्र साइलो बनिरहेको दाबी छ। रिपोर्टअनुसार चीन सयभन्दा बढी मिसाइल साइलो बनाइरहेको छ र यदी यो पुरा भएमा चीनको परमाणु नीतिमा ऐतिहासिक बदलाव हुनेछ।

चीनको डीएफ–४१ अन्तरमहादेशीय क्षेप्यास्त्र त्यहाँ भण्डारन गरिने अनुमान गरिएको छ। यो क्षेप्यास्त्रले एकसाथ कयौं परमाणु हतियार बोक्नसक्छ, जसले अमेरिकामै पुगेर आक्रमण गर्नसक्छ। ग्लोबल टाइम्सले डीएफ–४१ क्षेप्यास्त्रलाई सोलिड फ्युल क्षेप्यास्त्र भनेको छ। यो हाई मोबिलिटी लन्चर भेइकलबाट लन्च गर्न सकिन्छ।

मिसाइल साइलो कुनै पनि देशको गोप्य विषय हो। दुश्मन देशलाई भ्रममा पार्न देशहरुले नक्कली साइलो पनि बनाउने गर्दछन्। अमेरिकासँग कम्तिमा ४५० मिसाइल साइलो भएको बताइन्छ। सन् २०२० को अमेरिकी रक्षा मन्त्रालयको अनुसन्धान अनुसार चीनसँग २०० को हाराहारीमा परमाणु हतियार छ। अनुसन्धानमा चीनले हतियारहरुलाई अत्याधुनिक बनाइरहेको पनि जनाइएको थियो। अमेरिकासँग भने ३८ सयको संख्यामा परमाणु हतियार छ। यीमध्ये १३५७ मात्र तैनाथ छन्।


प्रतिक्रिया दिनुहोस्