क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ५०


काठमाडौं स् औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन्। उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन्। उनलाई प्रेरणाका पात्रका रूपमा लिन्छन्।

वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे। उनको युवावस्था निकै संघर्षशील रह्यो। उनले युवा उमेरमा अनेक सास्ती भोगे। जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन्। उनको एउटा सपना छ। त्यो हो, ‘क्यान्सर रोगविरुद्ध स्वदेशमै औषधि उत्पादन।’ जुन सपनाले अब मूर्त रूप लिने भएको छ। टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा छन्। ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उनले भने, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ।’

क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने उनको उद्योग नेपालकै पहिलो हो। ४० वर्षअघि भारतबाट ‘एन्टि क्यान्सर’ औषधि पहिलो पटक वैधानिक रूपमा दर्ता गरी उनकै बुवाले आयात गरेका थिए। बुवाको पथ पच्छ्याइरहेका कान्छो छोरा शैलेश नेपालमा क्यान्सर उत्पादन गर्ने पहिलो उद्योग खोलेका छन्।

अभावको घाउमा मल्हम
शरीरको रौं र नङबाहेक अन्य जुनसुकै अंगमा पनि क्यान्सर हुन सक्छ। नेपालमा पुरुषलाई फोक्सो र महिलालाई स्तन क्यान्सरले बढी सताएको छ। यसको औषधि स्वदेशमा उत्पादन नहुने भएकाले भारत र तेस्रो मुलुकबाट आएको औषधि निकै महंगो पर्छ।

बाँच्ने आसमा औषधि खरिदका लागि हजारौंले घरबार बेचेका छन्। त्यहीं औषधि बेलाबखत अभाव हुन्छ। खोजेको बेला पाइँदैन। यो अवस्थाको उनी भुक्तभोगी हुन्। आफन्तहरू माझ पनि कोही स्तन क्यान्सर, पित्तथैली एवं कलेजोको क्यान्सर छ। साथीभाइको घरमा पुग्दा अभिभावक क्यान्सरबाट थलिएको देख्दा उनी भक्कानिएका छन्। ‘क्यान्सरविरुद्धको औषधि खरिद गर्न सडकमा धेरै पटक हिँडेको छु। पैसा दिँदा पनि औषधि पाउन सकिन। दुःखी हुँदै फर्केको छु ।’ उनले स्मरण गरे।

उनले क्यान्सरविरुद्धको औषधिको जग हाल्दै गर्दा कतिपय आफन्तहरू क्यान्सरसँग जुध्दै थिए। अभिभावकलाई क्यान्सरले बनाएको घाउ उनको आँखामा नाचिरहन्छ। उनले भावुक हुँदै भने , ‘एकातिर औषधिको उद्योगको जग पनि हाल्दै थिएँ। लकडाउनको अवधिमा आफन्तका लागि क्यान्सरको औषधि खोज्दै हिँड्नु परेको अवस्था थियो।’

भारत, बंगलादेश तथा तेस्रो मुलुकबाट क्यान्सरविरुद्धको औषधि आयात गरिन्छ। यी आयातित औषधिभन्दा सुलभ मूल्यमा निरन्तर पाइनेछ । ‘व्यापार भन्दा पनि नेपाली जनताको सेवा र राहतका लागि आँट गरेको हुँ। स्वदेशमै उत्पादित औषधि गुणस्तरीयताको साथै केही हदसम्म सस्तो गर्ने प्रयास गर्नेछौं,’ उनले प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुँदा सस्तो हुने र बिरामीको पहुँच पुग्ने बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 


प्रतिक्रिया दिनुहोस्