ताइवानका सेनाले युद्ध अभ्यास गर्न लागेको ठाउँमै चिनियाँ लडाकु विमानहरु पुगेपछि…

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ३९


मंगलबार चीन र ताइवानका सेनाबीच केहीबेर तनावको अवस्था सिर्जना भएको छ। मंगलबार बिहानै चीनका ११ लडाकु विमानहरु ताइवान स्ट्रेट ‘चीन र ताइवानबीचको समुद्री सीमा’ पार गर्दै ताइवानका सेनाले युद्ध अभ्यास गर्न लागेकै ठाउँमा पुगेपछि तनाव उत्पन्न भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार हिजो मंगलबार बिहान साढे ९ बजेदेखि १० बजेर २२ मिनेट जाँदा सम्म चिनियाँ युद्धक विमानहरु ताइवानको आकाशमा अनुमति बेगर उडेका थिए। ६ फाइटर जेट, दुई बम्बर जेट र तीन जासुसी विमान ताइवानको हवाई क्षेत्रमा घुसेको बताइएको छ।

यतिबेला आफूले रेडियोमार्फत् चिनियाँ युद्धक विमानलाई बारम्बार चेतावनी दिइरहेको र त्यस्ता विमानको निगारनी गर्न क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको ताइवानको भनाइ छ। ताइवानले बिहान साढे १० बजेदेखि साढे २ बजेसम्म युद्ध अभ्यासको तालिका बनाएको थियो। हवाई सेना र जल सेनाले संयुक्त अभ्यास गर्न लागेका थिए।

ताइवानका स्थानीय संचारमाध्यमले चिनियाँ विमान ताइवानमा घुसेको विषयमा समाचार बनाएका थिए। ताइवानले चेतावनी दिइँरहँदा पनि अटेर गर्दै चिनियाँ लडाकु विमानहरु उडेको सेट टीभीले जनाएको छ। समाचारअनुसार चीनको पनडुब्बी पत्ता लगाउने विमान त जिउपेङ हवाई बेससम्मै आइपुगेको थियो। सो बेस ताइवानको नेसनल चुंगसान इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीको हतियार परीक्षण गर्ने ठाउँ हो।

यसवर्ष चीनका युद्धक विमानले ३९१ पटक ताइवान स्ट्रेट पार गरेको खबर छ। जसमध्ये जुन १५ मा चीनका २८ लडाकु विमान एकसाथ ताइवान घुसेका थिए।

चीन र ताइवान विवाद के हो?

चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ।

तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ। चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस्