रोनाल्डो भन्छन्ः मड्रिड जाने चर्चा हल्ला मात्र, मैले त्यहाँ इतिहास रचिसकें

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३७


पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पुनः रियल मड्रिडमा अनुबन्ध हुनेबारे समाचारहरु सार्वजनिक भएपछि प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक संजालमा आफू मड्रिड जानेबारे चर्चा चलेको र त्यो हल्ला मात्र भएको बताएका हुन्।

रोनाल्डोले रियल मड्रिड, पीएसजी तथा म्यानचेस्टर सिटी जानेबारे हल्ला चलेकोमो संचारमाध्यमसँग आपत्ति जनाएका हुन्। आफ्नो लागि ती खबरहरु आपत्तिजनक भएको उनको भनाइ छ। उनले आफ्नो जीवनको उद्देश्य अथवा आदर्श कम बोल्ने र काम गरेर देखाउने भएको बताएका छन्।

आफ्नो नाम विभिन्न क्लबसँग जोडिएर समाचार बन्दा आफ्नोसँगै ती क्लबको पनि बदनाम भइरहेको उनको भनाइ छ। हालै मात्र मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले आफूले रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छा व्यक्त नगरेको भनेर स्पष्टीकरण दिएका थिए। रोनाल्डोले मड्रिडमा ३ वर्षसम्म खेल्ने सम्झौता हुन लागेको समाचारहरु आएका थिए।

यसबीचमा रोनाल्डोले आफूले मड्रिडमा इतिहास रचिसकेको र आफू अहिले जहाँ छु त्यहीँ चुनौतीको सामना गर्न तयार भएको उल्लेख गरेका छन्। पीएसजीले रोनाल्डो र मेस्सीलाई एकसाथ खेलाउने इच्छा राखेको समाचार पनि आएका थिए। रोनाल्डोले युभेन्टस छाड्ने नछाड्ने साथै अन्य क्लबमा जाने नजानेबारे केही जानकारी नदिई हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्