बेलायतमा आमरण अनसनरत पूर्व गोर्खा सैनिक अस्पताल भर्ना

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३२


काठमाडौं । बेलायतमा आमरण अनसन बसिरहेका एक पूर्व गोर्खा सैनिकको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको छ।

डाउनिङ स्ट्रिट बाहिर भोक हडतालमा रहेका पूर्व गोर्खा सैनिक ५९ बर्षीय धन गुरुङलाई अस्पताल लगिएको बीबीसीले जनाएको छ।

अभियन्ता गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको बताइएको छ।

पेन्सनमा विभेद गरिएको पूर्व गोर्खा सैनिकले बेलायत सरकार विरुद्ध अनसन थालेका हुन।

भूतपूर्व गोर्खा सैनिकले भन्दा बेलायती सैनिकले २ सय ९८ प्रतिशत बढी पेन्सन पाउँदै आएका छन्।

गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरेपछि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर अगस्ट ७ तारिखदेखि आमरण अनसनमा छन् ।


यसैबीच, गैरआवासीय नेपाली संघ यूकेले भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको समान पेन्सन, सुविधा लगायतका माग तत्काल सम्बोधन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानाकर्षण गराएको छ।

एनआरएन एनसीसी यूकेका अध्यक्ष प्रेमगाहा मगरले आन्दोलनरत गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री जोन्सनलाई ज्ञापनपत्र पठाएका छन् । लण्डनस्थित स्थानीय हुलाकमार्फत पठाइएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय पुगिसकेको छ।

 


प्रतिक्रिया दिनुहोस्