मलाला जसलाई पढ्न खोज्दा टाउकोमा गोली हानियो, तालिबान फर्किएकोमा यसो भन्छिन्…

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : १४


अफगानिस्तानमा तालिबानले पूर्ण रुपमा नियन्त्रण कायम गरेका छन्। यो बीचमा धेरै संघर्षबाट प्राप्त गरिएको स्वतन्त्रता र अधिकार गुम्ने खतरा बढेको टिप्पणीहरु भइरहेका छन्। विशेषगरी महिलाले पाएको स्वतन्त्रता गुम्ने खतरा भएको नोबेल पुरस्कार विजेता मलाला युसुफजाई बताउँछिन्।

पाकिस्तानी मलाला युसुफजाईलाई ९ वर्ष अगाडि विद्यालयको शिक्षा छोड्न तालिबानले आदेश दिएको थियो। तर उनले तालिबानको चेतावनी नकार्दै पढ्न विद्यालय गइरहिन् जसका कारण उनको टाउकोमा गोली हानियो। उनलाई हत्या गर्न गोली हानिएको थियो। तर भाग्यवश उनी बाँचिन् र बेलायतमा बस्दै आएकी छिन्।

यतिबेला तालिबान अफगानिस्तानको सत्तामा फर्किएको अवस्था छ र उनले तालिबानीहरु सरकारमा आएमा अफगानिस्तानमा हुने सम्भावित घटनाक्रमबारे आफ्नो धारणा राखेकी छिन्। महिला अधिकारको लागि काम गर्ने मलाला तालिबानको पुनःआगमले चिन्तित छिन्।

उनी भन्छिन्,‘म अफगानिस्तानको वर्तमान अवस्थालाई लिएर चिन्तित छु। खासगरी त्यहाँका महिला र किशोरीहरुको सुरक्षाको विषयलाई लिएर।’ मलालाका अनुसार तालिबान फर्किएपछि त्यहाँका अधिकाँश मानिसले सन् १९९६ देखि २००१ सम्म कस्तो अवस्था थियो भनेर सम्झिरहेको होलान् पनि।

आफूलाई विद्यालय गएकै कारण गोली हानिएको सम्झना गर्दै किशोरीहरुले विद्यालय जान नपाउने उनको भनाइ छ। चिन्तित हुँदै उनी भन्छिन्,‘हामीले पहिल्यै समाचारहरुमा देखिसकेका छौं कि विश्वविद्यालय र विद्यालयबाट केटी मान्छेलाई फर्काइएको छ। उनीहरुमध्ये धेरै १५ देखि १२ वर्षकी किशोरीहरुलाई विवाह गर्न भनिएको थियो।’

जब उनीहरु पहिले सत्तामा थिए उनीहरुले महिलाविरुद्ध अत्याचार गरे, महिलालाई कठोर दण्ड दिए, विद्यालय जान प्रतिबन्ध लगाए, तर यसपटक तालिबान नेताले उनीहरुको शासन पहिलेजस्तो नहुने बताएका छन्। तर के मलाला यस्ता आश्वासनसँग सहमत छिन्?

मलाला भन्छिन्,‘वर्षौंदेखि महिलाहरुको सक्रियता र सहभागिताले तालिबानलाई धेरै दबाब दिएको छ। उनीहरु खुलेआम महिलाहरुलाई आफ्नो कामबाट रोक्न सक्दैनन्। उनीहरुले महिलालाई अधिकार दिनेबारे अस्पष्ट विचार राखेका छन्। त्यसैले महिलाले अधिकार पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन।’

देश कब्जा गरेपछि मंगलबार पहिलो पत्रकार सम्मेलन गर्दै तालिबानले हिजो शरिया कानुन अर्थात् मुस्लिम धर्ममा भनिएजति अधिकार महिलाले पाउने बताएका छन्। अधिकार दिने भनेपनि उनीहरुले यसमा के पर्छ भनेर राम्रोसँग उल्लेख नगरेकाले दुविधा देखिएको हो।

मलालाले अफगानिस्तानमा पछिल्लो समय देखिएको परिदृश्यलाई मानव संकट भनेकी छिन्। अमेरिकी विमानमा झुन्डिएर मानिसहरु जान खोजिरहेका छन्। सो क्रममा विमानबाट खसेर धेरैले ज्यान गुमाइसके। मलालाका अनुसार विश्वभरका देशले अफगानिस्तानका शरणार्थीलाई शरण दिनुपर्छ त्यसको लागि सीमा खुला राख्नुपर्छ।

उनले संयुक्त राष्ट्रसंघलाई अपिल गर्दै अफगानिस्तानका नागरिकको सुरक्षामा प्राथमिकता दिन साथै त्यहाँका अल्पसंख्यक, महिला, किशोरीको सुरक्षामा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन्।

उनले अफगानिस्तानको महिला र किशोरीलाई भनेकी छिन्,‘सबै अफगान महिला र किशोरीलाई मेरो सन्देश यही हो कि म तपाइँहरुको साथमा छु। तपाइँको आफ्नो अधिकार, भविष्यको अधिकार, शिक्षाको अधिकार साथै सपना साकार गर्ने अधिकारको पक्षमा उभिनेछु।’ बीबीसीबाट भावानुवाद


प्रतिक्रिया दिनुहोस्