अफगानिस्तान कब्जापछि तालिबानका सह–संस्थापक बरादर २० वर्षपछि स्वदेश फर्किए

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ११ : १६


पुरै अफगानिस्तान तालिबानको नियन्त्रण आएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन्। स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए। तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्।

अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ। उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन्।

कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधार क्षेत्र रहेको थियो। कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्।

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो।

सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो। उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे। इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्