तालिबानले भन्योः धार्मिक कानुनअनुसार महिलालाई अधिकार

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ४२


अफगानिस्तान पुरै कब्जा गरेको दोस्रो दिन तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्नो आगामी योजनाबारे विश्वलाई जानकारी गराएको छ। तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन्।

यसैबीच विश्वले तालिबानको शासनमा महिला अधिकार कुण्ठित हुने चिन्ता व्यक्त गरिरहँदा प्रवक्ता मुजाहिदले आफूहरूले शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको जानकारी दिए।

मुस्लिम धर्ममा भएजति अधिकार सबैले पाउने र त्यहाँभन्दा बढी कसैलाई अधिकार नदिने उल्लेख गरिएको छ। यसमा के पर्छ भनेर उनले खुलाएनन् यद्यपी जब उनीहरु २ दशक अगाडि सत्तामा थिए महिलाहरु प्रताडित थिए। उनीहरुले उच्च शिक्षा हासिल गर्न पाउँदैन थिए, कार्यालयमा काम गर्न पाउँदैन थिए।

के हो शरिया कानुन?

तालिबानले शरिया कानुन अन्तर्गत महिलाहरूको हक अधिकारप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। शरिया कानुन इस्लामको कानुनी प्रणाली हो। यो इस्लाम ग्रन्थ कुरान र इस्लाम विद्वानहरूको निर्णय फतवाबाट साभार गरिएको हो।

शरिया कानुनले मानिसहरूलाई परिवार, अर्थ अनि व्यापार जस्ता जीवनका सबै पाटाबारे जानकारी दिन सक्छ। यसमा केही कडा सजायहरू पनि समावेश हुन सक्छन्। उदाहरणका लागि चोरीको सजाय हात काटिदिनु हुनसक्छ भने व्यभिचारको सजाय ढुङ्गाले हानेर मार्नु हुनसक्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्