तालिबानको पहिलो पत्रकार सम्मेलन : विदेशीलाई निकाल्यौं, सबैलाई माफी

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : ३०


काबुल । अफगानिस्तानमा सत्ता कब्जा गरेपछि तालिबानले पहिलो पटक राजधानी काबुलमा पत्रकार सम्मेलन मंगलबार आयोजना गरेको छ।

धेरै क्यामराहरुका अगाडि पहिलो पटक तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने ‘२० बर्षको संघर्षपछि देशलाई मुक्त  गरेका छौं, विदेशीहरुलाई देश निकाला गरेका छौं।’

‘यो पूरै देशका लागि गर्वको क्षण हो’, उनले भने।

प्रवक्ता ले अगाडी भने , ‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ, अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्न चाहन्छौं की कसैलाई हानी हुने छैन।’

आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको पनि उनले जानकारी दिए।

महिलाहरु समेत आफूहरुको सरकारमा सहभागी बन्ने बताउँदै तालिबान प्रवक्ताले उनीहरुमाथि कुनै भेदभाव नहुने पनि अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहेको बताए।

कसैसँग बदला लिदैनौं

प्रवक्ता मुजाहिदले अब आफूहरुले कसैसँग बदला लिन नचाहेको समेत बताए।

उनले भने, ‘अफगानिस्तान अब युद्धको मैदान रहेन। हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ।’

विगतमा आफूहरुसँग लड्ने सेना-प्रहरीप्रति कुनै बदलाको भाव नराखिने तालिबानको भनाई छ।

तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ।

नीजि सञ्चारमाध्यमहरु स्वतन्त्र रहन सक्ने तर धार्मिक मुल्यमान्यता विपरितका काम हुन नहुनेमा समेत उनले जोड दिए।

पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय गरिने जानकारी दिए।

हाल सरकार सञ्चालनका लागि तयारी भइरहेको बताए।

 


प्रतिक्रिया दिनुहोस्