अफगानिस्तानबाट उद्धार गरिएका ११८ नेपाली काठमाडौं आइपुगे

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ११ : २७


अफगानिस्तानबाट उद्धार गरिएका ११८ जना नेपाली काडमाडौं आइपुगेका छन्। केहीबेर अगाडि मात्र उनीहरु सवार विमान त्रिभुवन विमास्थल अवतरण गरेको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट ११८ नेपाली लिएर जजिरा एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ।अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा ल्याएर राखिएको छ। अहिले कुवेतमा रहेका नेपालीलाई स्वदेश फर्काइएको हो।

सोमबार मात्र सरकारले अफगानिस्तानमा फसेका नेपालीको तत्काल उद्धार गरिने बताएको थियो। यसैबीच अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले स्वदेश फर्किनका लागि आफ्नो विवरण दर्ता गराएका छन्। कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई एक वा दुई दिनमै स्वदेश फर्काउने तयारी छ। मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण संकलन गर्ने निर्णय गरेको थियो।

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको अवस्था यकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न समिति गठन गरिएको थियो।

विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण संकलनको काम थालिएको छ। साथै, मन्त्रालयले उपलब्ध गराएको नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्