यसकारण आफूलाई चुनावमा जित्ने राष्ट्रपति बाइडेनको राजीनामा मागे ट्रम्पले…

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ४ : ११


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्। अफगानिस्तानबाट असरफ गनी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्।

अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक गनी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ।

स्थानीय समयअनुसार आइतबार राति जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्,“अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ।”

अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ। आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन्।

अफगानिस्तानका राष्ट्रपति ननीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन्। तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि गनीले देश छाडेका हुन्।

स्रोतका अनुसार अब तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन्। उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्