अफगानिस्तानबाट तत्काल नेपालीको उद्धार गर्ने सरकारको निर्णय

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : ४४


सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै नेपालीको उद्धार गर्ने विषयमा जानकारी दिएका हुन्।

कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’

यसैबीच बेलायतमा भूपू गोर्खा सैनिकहरुले आमरण अनसन बसेकोप्रति पनि नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताएका छन्। गोर्खाहरुले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निवास अगाडि नै धर्ना दिइरहेका छन्। समान पेन्सन लगायतको विषय गोेर्खाहरुको माग रहेको छ।

यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेकोले आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस्