देशका प्रमुख चार पर्यटकीय गन्तव्यलाई जोड्यो हवाई उडानले, बुद्ध एयरको उडान सुरु

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : ०७


देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन्। चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन्।

भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन्। बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो। बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ।

भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ। आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उहाँले जानकारी दिए। बस्नेतले भने,“पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन्। देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ।

लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए। सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताउँछन्।


प्रतिक्रिया दिनुहोस्