‘रक्तपात रोक्नका लागि मैले देश छोडेँ, देश र नागरिकको हिफाजतको जिम्मा अब तालिबानलाई’

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : १८


अफगानिस्तानबाट भागेपछि राष्ट्रपति असरफ घानीले देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको प्रतिक्रिया दिएका छन्।

आइतबार अफगानिस्तानबाट भागेका उनले सामाजिक सञ्जाल फेसकबुकमार्फत् देश छाड्नुका कारणबारे पहिलोपटक प्रतिक्रिया दिएका हुन्।

उनले आफू रहँदा तालिबान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसले लाखौं मानिसको जीवन खतरामा पर्न सक्ने भएकाले देश छाडेको बताएका छन्।

‘मलाई एक निकै कठिन फैसला गर्नु थियो, कि त म सशस्त्र तालिबान जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहिरहेका थिए, उनीहरुको अगाडि उभिउँ या फेरि आफ्नो देश जसको विगत २० वर्षदेखि सुरक्षाका लागि मैले जीवन व्यतित गरे त्यसलाई छोडिदिउँ’, उनले लेखेका छन्।

त्यसबीचमा धेरै मानिस मारिएको र काबुल ध्वस्त भएको देख्न परेको भए ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुने उनको भनाइ छ।

तालिबानले तरवार र बन्दुकको भरमा जित हासिल गरेको घानीको आरोप छ। अब देशका नागरिक र उनीहरुको इज्जतको हिफाजतको जिम्मेवारी तालिबानमाथि रहेको उनले बताएका छन्।

‘तर, उनीहरुले मानिसहरुको मनलाई जित्न सक्दैनन। इतिहासमा कसैलाई पनि शक्तिले यो हक प्राप्त गरेको छैन र मिल्ने पनि छैन। अब उनीहरुले एक ऐतिहासिक परीक्षा सामना गर्नुपर्नेछ, अफगानिस्तानको नाम र इज्जत बचाउने या अरु इलाका र नेटवर्क’, घानीले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्