तालिबानको आक्रमणबाट ज्यान जोगाउन ८४ अफगान सेनाहरु उज्वेकिस्तान भागे

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ४८


तालिबान समूहले केन्द्रीय राजधानकी काबुल बाहेक देशका सबैजसो प्रमुख शहर र प्रान्तीय राजधानी कब्जा गरिरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

तालिबानको आक्रमणबाट ज्यान जोगाउन उनीहरु अर्को देश भागेका हुन्। उज्वेकिस्तानको मन्त्रालयले भनेको छ,‘अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको छ र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूले पक्राउ गरेका छन्।’

सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ। उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ।

सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ।

रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशको सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ।

विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ। तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुलमा प्रवेश गर्न थालिसकेको छ।


प्रतिक्रिया दिनुहोस्