तालिबानहरु राजधानी काबुल घुस्न थालेपछि राष्ट्रपति गनीले नेटोसँग सहयोग माग्दै

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ३७


विद्रोही समुह तालिबान लडाकुहरु केन्द्रीय राजधानी घुस्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन्। राष्ट्रपति गनी, अमेरिकाका विशेष दूत जलमे खलिलजाद र नेटोका अधिकारीहरु बिच वार्ता भइरहेको बीबीसीहिन्दीले जनाएको छ।

तालिबानले काबुल बाहेक देशका सबै शहर र प्रान्तीय राजधानी कब्जा गरिसकेको अवस्थामा यो आपतकालीन बैठक बोलाइएको हो। शनिबार मात्र राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्दै सेनाहरु संगठित गर्ने र हिंसा रोक्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

यसको मतलब उनी तालिबानसँग भिड्ने पक्षमा छन्। अब तालिबानविरुद्ध उनले नेटोसँग सहयोग माग्ने देखिएको छ। आज काबुल छेउकै जलालाबाद युद्ध बिनै तालिबानले कब्जा गरेको छ र काबुलको ढोकामै पुगेर उसले सरकारलाई आत्मसमर्पण गर्न चेतावनी दिएको खबरहरु आएका छन्।

अहिले पनि ५ हजार अमेरिकी फौज काबुलमा भएको बताइन्छ। तर उनीहरु आफ्ना नागरिक तथा कूटनीतिज्ञ मात्र निकाल्न त्यहाँ पुगेका हुन्। यदी नेटोले फेरि तालिबानविरुद्ध आक्रमण गरेमा यो शान्ति सम्झौताको उल्लंघन हुने तालिबानले यसअघि नै बताउँदै आएको छ।

तालिबानले आफू सत्तामा आउने दृढता देखाइसकेको छ। तालिबानले राष्ट्रपति गनीलाई राजीनामा दिन बारम्बार चेतावनी दिइरहेको छ।

शान्ति सम्झौता
सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो। कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ। नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ। तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ।

त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ।

पृष्ठभूमि
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो।

सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्