माओवादीको केन्द्रीय समिति बैठक आज पनि, यी विषयमा हुनेछ छलफल

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : १२


नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आज समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको छ। बैठक बिहान ११ बजे सुरु हुनेछ।

यसअघि केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि छलफल गराइएको थियो।

आजको बैठकमा सबै समूहबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए। जुन पारित गरिएको छ।

आजको बैठकले समूहगत सुझावमा आएको सुझावका आधारमा प्रतिवेदनलाई संशोधन गरिनेसमेत प्रवक्ता श्रेष्ठको भनाइ छ। सम्भव भएसम्म बैठक आजै अन्त्य गर्ने माओवादीको तयारी छ।

हिजाेकाे बैठकमा वामलोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल भएको थियो।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा समेत छलफल भएको माओवादी केन्द्रले जनाएको छ।

बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। प्रचण्डको प्रस्तावमा प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्ने बताइएको छ।

राजनीतिक प्रस्तावमा भदाै मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना प्रस्ताव गरिएको छ।

कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ।


प्रतिक्रिया दिनुहोस्