करोडौं ठगी गरेर युरोप भागेका केदारलाई नेपाल प्रहरीले पक्राउ गरिछाड्यो, फर्कायो नेपाल

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ००


करोडौं रकम ठगी गरेर युरोपेली राष्ट्र पोर्चुगल भागेका केदार ढुंगानालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा गिरफ्तार गरेर नेपाल फर्काएको छ। बैंकिङ कसुर र अन्य ठगी सम्बन्धी कसुरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका १ का ४३ वर्षीय केदार ढुंगाना अन्ततः प्रहरीको फन्दामा परेका हुन्।

ललितपुर जिल्ला अदालतबाट १० वटा मुद्दामा दोषी देखिएकालाई १० वर्ष कैद र ७ लाख रुपैयाँ जरिवान ठहर गरेको थियो। सो कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरुको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आए पश्चात केदारलाई पक्राउ गर्न २०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजतलास गर्दा उनी नेपालमा फेला नपरेको र संयुक्त अरब ईमिरेट्समा रहेको बुझिएको थियो।

त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न २०७५ पुस १७ गते डिफ्यूजन जारी भएको र उक्त डिफ्यूजन रेड नोटिसमा रुपान्तरण भएको थियो। उनले पोर्चुगलमा रेसिडेन्स पर्मिटको लागि आवेदन दिएको नेपाल प्रहरीलाई २०७७ जेठ १६ मा जानकारी भएको थियो।

इन्टरपोल शाखाले त्यसपछि पोर्चुगलका प्रहरीसँग समन्वय गरेर ढुंगालाई पक्राउ गरेर शनिबार नेपाल फर्काएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

नारायण बहादुर श्रेष्ठ समेत १२ जना प्रतिवादीहरुले काठमाडौं र ललितपुरका देवः विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुमा विभिन्न सवारी साधनहरु सुरक्षण बापत बैंकको नाममा पास गरी सवारी साधन कर्जा बापत २ करोड ७१ लाख ७६ हजार रकम लिई बैंकको कर्जा रकम नबुझाएपछि लिलामी गर्ने प्रयोजनको लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारी साधनहरु बैंकको नाममा नरहेको जानकारी भएको थियो।

बैंकले २०७५ मंसिर २१ गते प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अगाडि बढेको थियो।


प्रतिक्रिया दिनुहोस्