तालिबानको जित हुने देखेपछि क्यानडाले भन्योः २० हजार अफगानीलाई शरण दिन्छौं

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : ५५
क्यानडाका प्रधानमन्त्री जस्टि ट्रुडो र तालिबान


विद्रोही तालिबान र सरकारी सेनाबीच हिंस्रक लडाइँ चलिरहेका बेला क्यानडाले आफूले २० हजार अफगान नागरिकलाई शरण दिने घोषणा गरेको छ। वास्तवमा पुरै देश कब्जा गर्ने देखिएपछि विश्वका कयौं राष्ट्रले अफगानिस्तानसँग सम्बन्धित विभिन्न निर्णयहरु गरिरहेका हुन्।

यतिबेला तालिबान लडाकुहरु केन्द्रीय राजधानी काबुलभन्दा ५० किलोमिटर मात्र टाढा छन्। तालिबानले ३४ मध्ये मुख्य मानिएका १४ प्रान्तीय राजधानी आफ्नो कब्जामा लिइसकेका छन्। कान्दहार र हेरातजस्ता प्रमुख शहरहरु तालिबानको नियन्त्रणमा छ।

प्रमुख शहर तथा राजधानीमा कब्जा जमाउनुलाई तालिबानको ठूलो जित मानिएको छ। बीबीसीका अनुसार तालिबानले कब्जा गरेको प्रान्तीय राजधानी फुल–ए–आलम लोगार प्रान्तमा पर्दछ। लोगार प्रान्त काबुलदेखि मात्र ५० किलोमिटर टाढा छ। यहाँबाट केन्द्रीय राजधानी काबुल पुग्न मात्र दुई घण्टा लाग्छ।

यसको मतलब जतिबेला पनि तालिबानले आक्रमण गरेर काबुल कब्जा गर्ने लक्ष्य नजिक पुगेका छन्। यसरी देशभर तालिबानको प्रभाव बढ्दै गएपछि क्यानडाले २० हजार अफगान नागरिकलाई शरण दिने बताएको हो।

अमेरिकाले ३० दिन भित्र काबुल पनि तालिबानको हातमा जाने अनुमान गरेको छ। यद्यपी तालिबानले त्यो भन्दा कम समयमै काबुल कब्जा गर्ने देखिएको छ। जसका कारण अमेरिका र बेलायतले अफगानिस्तानबाट आफ्ना सबै नागरिक तथा कूटनीतिज्ञहरु फर्काउने तयारी थालेको छ। उनीहरुले त्यहाँ सेना पठाएर नै उद्धार कार्य गर्ने भएका छन्।

यसबीचमा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन नेटो समूहका महासचिव जनरल जेन्स स्टोलटेनबर्गले शुक्रबार नेटोले तालिबान बलपूर्वक सत्तामा आएमा आफूले मान्यता नदिने बताएको छ।

नेटोले तालिबान र अफगान सरकारबीच राजनीतिक समाधान चाहेको उल्लेख गरेको छ। २० वर्षपछि अमेरिका लगायत नेटोमा आवद्ध विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किँदै गर्दा तालिबानको शक्ति मजबुत भएको छ। तालिबानहरु राजधानी काबुल नजिकैको शहरसम्मै पुगिरहँदा हजारौं विस्थापित भएका छन्।

 तालिबानको चेतावनीः अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युद

– तालिबानले देश नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिकको उद्धार गर्न हजारौं सेना पठाउँदै अमेरिका


प्रतिक्रिया दिनुहोस्