रोनाल्डो र मेस्सीको मिलन गराउने पीएसजीको मास्टर प्लान

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : ०३


पीएसजीले यस सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सी अनुबन्ध गरेको छ। यसबीचमा आगामी सिजन पीएसजीले अर्का स्टार क्रिस्टियानो रोनाल्डो पनि अनुबन्ध गर्ने योजना बनाएको छ।

गिभ मि स्पोर्ट्सका अनुसार वर्तमान समयका सर्वाधिक प्रख्यात खेलाडी रोनाल्डो, मेस्सी र नेइमारलाई एकै क्लबबाट खेलाउने चाहना पीएसजीका प्रमुख नासर अल–खेलाईफीको छ। हाल मेस्सी र नेमार एक भइसकेका छन्।

रोनाल्डोको अर्को सिजन युभेन्टससँग सम्झौता सकिनेछ। यता पीएसजीमा एमबाप्पेको पनि अर्को सिजन नै सम्झौता सकिनेछ। एमबाप्पेले सुरुवातदेखि रियल मड्रिडमा खेल्ने चाहना व्यक्त गरिरहेका छन्। जसका कारण अर्को सिजन सम्झौताबाट मुक्त उनी मड्रिड जाने अनुमान गरिएको छ।

यदी एमबाप्पेले पीएसजी छाडेमा पीएसजीले रोनाल्डोको लागि राम्रो अफर गर्नेछ। रोनाल्डो आगामी सिजन ३७ वर्षका भइसक्नेछन्। यस्तो अवस्थामा उनलाई अन्य क्लबले राम्रो मूल्यमा खरिद गर्ने सम्भावना कम छ। तर पीएसजी राम्रो आर्थिक अवस्था भएको क्लब हो।

पीएसजीमा नेमार जुनियर, केलिएन एमबाप्पेजस्ता स्टार फरवार्ड हुँदाहुँदै पनि उसले मेस्सीलाई सबैभन्दा बढी तलब दिनेगरी अनुबन्ध गर्यो। यसको अर्थ पीएसजी स्टार खेलाडीलाई ल्याउन उत्सुक छ। पीएसजीले मात्र रोनाल्डोलाई उपयुक्त तलब दिनसक्छ।

मेस्सी र रोनाल्डोको दिनदिनै उमेर गइरहेको छ। उनीहरु रिटायर्ड भइन्जेल पीएसजी नै आर्थिक रुपमा उनीहरुको लागि उपयुक्त क्लब भएको पनि खेल विश्लेषहरु बताउँछन्। एमबाप्पेले पीएसजी छाडेको खण्डमा रोनाल्डोलाई पीएसजीले राम्रो मूल्यमा अनुबन्ध गर्नसक्ने सम्भावनालाई पनि विश्लेषकहरु नकार्दैनन्।


प्रतिक्रिया दिनुहोस्