तालिबानले देश नै कब्जा गर्ने देखिएपछि आफ्ना नागरिकको उद्धार गर्न हजारौं सेना पठाउँदै अमेरिका

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : २५


अफगानिस्तानको विद्रोही समूह तालिबान दिनदिनै निकै बलियो बन्दै गएको छ। तालिबानले हालसम्म ३४ मध्ये ११ प्रान्तीय राजधानी कब्जा गरिसकेको छ।

उसले देशकै दोस्रो ठूलो शहर कान्दहार तथा देशकै तेस्रो ठूलो शहर हेरातसँगै रणनीतिक हिसाबले राजधानी काबुल नजिकैको गजनी शहर पनि कब्जा गरेको छ। यसरी मुख्य मानिएका शहर तथा प्रान्तीय राजधानीलाई नै कब्जामा लिनु भनेको तालिबानको ठूलो जित हो। कान्दहार, हेरातजस्ता ठाउँमा सरकारी सेनाको बलियो उपस्थिती थियो यद्यपी उनीहरुलाई हराएर तालिबानले देशै कब्जा गर्ने दृढतालाई थप मजबुत बनाएको छ।

२० वर्षपछि अमेरिका लगायत नेटोमा आवद्ध विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किँदै गर्दा तालिबानको शक्ति मजबुत भएको छ। तालिबानहरु राजधानी काबुल नजिकैको शहरसम्मै पुगेका छन्।

यसरी तालिबानले देश नै कब्जा गर्ने देखिएपछि अमेरिका र बेलायतले अफगानिस्तानबाट आफ्ना सबै नागरिक तथा कूटनीतिज्ञहरु फर्काउने तयारी थालेको छ। अमेरिकाले अफगानिस्तानमा अतिरिक्त ३ हजार अमेरिकी सेना पठाउने भएको छ। तालिबानबाट जोगाउन र आफ्ना नागरिकको सकुशल उद्धारको लागि अमेरिकाले आफ्ना सेना अफगानिस्तानमा पठाउन लागेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रवक्ता जोन किर्बीका अनुसार अमेरिकी सेनोको कुल तीन बटालियन काबुलको हामिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल जानेछन्। सैन्य विमानबाट अमेरिकी नागरिक फर्काइनेछ। बाइडेन प्रशासनले आगामी ३० दिन भित्र तालिबानले राजधानी काबुल पनि नियन्त्रणमा लिने अनुमान गरेको छ।

यसैबीच बेलायतले पनि ६ सय बेलायती सेना आफ्ना कूटनीतिज्ञ फर्काउन अफगानिस्तान पठाउने बताएको छ। बीबीसीहिन्दीको सहयोगमा

यो पनिः तालिबानको कब्जामा दोस्रो ठूलो शहर कान्दहार, संकटमा रहेको सरकारले राख्यो यस्तो प्रस्ताव…

तालिबानको चेतावनीः अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युदण्ड!


प्रतिक्रिया दिनुहोस्