बीआरआईः चिनियाँ इन्जिनियरको हत्यामा भारत र अफगानिस्तान संलग्न भएको पाकिस्तानको आरोप

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : ५०


बीआरआई अवधारणाअनुसार पाकिस्तानमा खटेका चिनियाँ इन्जिनियरहरु सवार बस गत जुलाई १४ मा पाकिस्तानको खैबर पख्तुन्ख्वाहमा विस्फोटपछि दुर्घटनामा परेको थियो।

सो बिस्फोटनलाई आतंकवादी आक्रमण ठहर्याउँदै पाकिस्तानले यस आक्रमणमा भारत र अफगानिस्तान संलग्न भएको आरोप लगाएको छ। जुलाई १४ बुधबार बिहानै ३० चिनियाँ इन्जिनियरहरु सवार बस डासुको बाँध परियोजनातर्फ अगाडि बढिरहेका थियो।

एउटा कार सोहीबेला सय केजी बिस्फोटकसहित चिनियाँ इन्जिनियरहरु सवार बसमामा ठोक्किन आइपुगेको थियो। त्यसपछि भएको दुर्घटनामा ९ चिनियाँ इन्जिनियरसहित १३ को मृत्यु भएको थियो। सो घटनामा २ पाकिस्तानी सेनासहित दर्जनौं मानिस पनि घाइते भएका थिए।

चीनले सुरुवातदेखि यो घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएको थियो। चीनले आक्रमणको अनुसन्धान गर्न आफ्नो विशेष टोली नै पाकिस्तान पठाएर आतंकवादी आक्रमण भएको पार्याप्त प्रमाण भेटिएको बताएको थियो।

बिहीबार पाकिस्तानका विदेशमन्त्री साह मेहमुद कुरेसीले यो घटनामा भारत र अफगानिस्तानको हात रहेको देखिएको बताए। उनका अनुसार भारतीय अनुसन्धान एजेन्सी ‘रअ’ र अफगानिस्तानको अनुसन्धान एजेन्सी ‘एनडीएस’ यसमा आवद्ध भएको बताएका छन्। जुन कार विस्फोटनको लागि प्रयोग भएको थियो त्यो कार अफगानिस्तानबाटै ल्याएको पाइएको बताइएको छ।

कुरेसीले पाकिस्तानले चीनलाई यो घटनामा सहयोग गर्ने र यसमा जिम्मेवारलाई कारवाही गर्ने बताएका छन्। चीनको बीआरआई परियोजनाको इन्जिनियरहरुमाथि आक्रमण भएको विषय यतिबेला विश्वभर चासोका साथ हेरिएको छ।

डासु लजविद्युत आयोजना चीन र पाकिस्तानको आर्थिक कोरिडोर सीपेक अन्तर्गत निर्माण भइरहेको छ। चीनको बीआरआई परियोजनाबाट यसका लागि ६५ अर्ब अमेरिकी डलर लगानी भएको छ। पश्चिमा राष्ट्रले भने चीनको बीआरआईलाई ऋणको पासोको रुपमा व्यख्या गर्ने गरेका छन्। तर चीनले बीआरआई चीनको पासो भए यसमा ५० भन्दा बढी राष्ट्र आवद्ध नुहने बताउँदै आएको छ।

पाकिस्तानले भारत र अफगानिस्तानलाई घटनामा जिम्मेवार ठहर्याएपछि चीनले पनि प्रतिक्रिया जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले पाकिस्तानी अध्ययनको प्रशंसा गरेकी छिन्। उनले पाकिस्तानी अध्ययनलाई छोटो समयमै ठूलो प्रगति भनेकी छिन्।

चुनयिङले थप अनुसन्धान भइरहेको र दोषीलाई कानुनको दायरामा ल्याइने बताएकी छिन्। चुनयिङले भनेकी छिन्,‘आतंकवाद सबै मानव जातिको साझा दुश्मन हो। चीन कुनैपति शक्तिको घोर विरोध गर्दछ जसले आतंकवादको सहारा लिएर भूराजनीतिक लाभ उठाउने कोशिश गर्दछ।’

चीनले पाकिस्तानसँगको परियोजनाको सुरक्षा सुनिश्चित गर्न दुवै देशले सहकार्य गर्ने र सम्बन्ध मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। भारत र अफगानिस्तान चीनको बीआरआईबाट खुशी छैन।

यस्तै अफगानिस्तानका विद्रोही समूह र चीनबीच राम्रो सम्बन्ध भएको पछिल्लो श्रृंखलाले प्रस्ट पारेको छ। गत महिना मात्र चीनले तालिबानलाई चीनमा स्वागत गरेको थियो। चीन तालिबान अफगानिस्तानको सत्तामा आओस् भन्ने चाहन्छ। चीनले अफगानिस्तान पुनः निर्माणमा सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ भने भारतसँग चीनको वर्षौयता सीमा विवाद कायमै छ। बीबीसी, सीएनएन र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्