भारतमा घाँटीमा जिउँदो सर्प बेरेर मनाइन्छ नाग पञ्चमी (भिडिओ)

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ११ : ३६


आज नागपञ्चमी। घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्वीर टाँसेर यो पर्व मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ। यसरी नागको तस्वीर घरमा टाँस्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

भिडिओ

मानिसहरुले नागको फोटो घरको ढोकामा टाँसेर पुजा र प्रार्थना गर्दा मानिसको प्रार्थना नाग देवता समक्ष पुग्ने अनुमान गरिन्छ। नाग पञ्चमीपछि बिस्तारै बर्षाको समय ओरालो लाग्ने गर्दछ र चाडवाडहरुको मौसम सुरु भएको आभास हुन्छ। नेपालमा नागको फोटोलाई पुजा गरिन्छ तर भारतमा भने नाग पञ्चमी रोचक ढंगबाट मनाइने गरेको पाइन्छ।

भारतका केही समुदायका मानिसहरुले नाग सर्पलाई घाँटीमा र हातमा बोकेर यात्रा गर्दछन्। उनीहरु सर्पलाई पुजा गरे त्यसले असल मानिसलाई कहिल्यै नडस्ने र पापी मान्छेलाई मात्र टोक्ने विश्वास गर्दछन्।


प्रतिक्रिया दिनुहोस्