तालिबानको कब्जामा दोस्रो ठूलो शहर कान्दहार, संकटमा रहेको सरकारले राख्यो यस्तो प्रस्ताव…

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २७


अफगानिस्तानको विद्रोही समूह तालिबान दिनदिनै निकै बलियो बन्दै गएको छ। यसबीचमा तालिबानले देशकै दोस्रो ठूलो शहर कान्दहारलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

बिहीबार अबेर मात्र तालिबानले तेस्रो ठूलो शहर हेरात कब्जामा लिएको थियो भने रणनीतिक हिसाबले राजधानी काबुल नजिकैको गजनी शहर पनि कब्जा गरेको थियो।

कान्दहारलाई नै कब्जामा लिनु भनेको तालिबानको ठूलो जित हो। कान्दहार, हेरातजस्ता ठाउँमा सरकारी सेनाको बलियो उपस्थिती थियो यद्यपी उनीहरुलाई हराएर तालिबानले देशै कब्जा गर्ने दृढतालाई थप मजबुत बनाएको छ।

कान्दहार कुनैबेला तालिबानको कढ थियो। साथै यो एउटा प्रमुख व्यापारिक केन्द्र भएका कारण यो रणनीतिक हिसाबले महत्वपूर्ण शहर हो। तालिबानका प्रवक्ताले घोषणा गर्दै भनेका छन्,‘कान्दहार पुरै हाम्रो कब्जामा छ।’ यद्यपी सरकारी अधिकारीहरुले यस विषयमा केही जानकारी दिएका छैनन्।

२० वर्षपछि अमेरिका लगायत नेटोमा आवद्ध विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किँदै गर्दा तालिबानको शक्ति मजबुत भएको छ। तालिबानहरु राजधानी काबुल नजिकैको शहरसम्मै पुगेका छन्।

यसैबीच अमेरिकाले पुनः ३००० अमेरिकी सेना अफगानिस्तान पठाउने घोषणा गरेको छ। अफगानिस्तानस्थित अमेरिकी दूतावासको कर्मचारीलाई सकुशल अमेरिका फर्काउन अमेरिकी सेना त्यहाँ पठाउन लागिएको हो। बेलायतले पनि ६ सय बेलायती सेना आफ्ना कूटनीतिज्ञ फर्काउने पठाउने बताएको छ।

प्रस्ताव
हालसम्म तालिबानले ३४ मध्ये ११ प्रान्तीय राजधानी कब्जा गरिसकेको छ। यसरी तालिबानले देशै कब्जामा लिने देखेपछि त्यहाँको सरकारले तालिबानलाई सरकारमा सामिल हुन आग्रह गरेको छ।

एएफपीका अनुसार राष्ट्रपति असरफ गनीले तालिबानलाई एउटा राजनीतिक संगठनको रुपमा राजनीतिमा आउन र सत्ताको सहयोगी बन्न प्रस्ताव गरेका हुन्। शान्ति स्थापनाको लागि यो प्रस्ताव गरिएता पनि बलियो बन्दै गएको तालिबानले कुनै प्रतिक्रिया जनाएको छ। तालिबानले असरफ गनीको सरकारलाई अवैध मान्दै आएको छ।

शान्ति सम्झौता
सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो। कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ। नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ। तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ।

त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ। यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गर्दै कयौं स्थान नियन्त्रणमा लिएका छन्।

पृष्ठभूमि
सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो।

सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्