आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ०५


आज नागपञ्चमी। घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्वीर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्वीर घरमा टाँस्दा वर्षभरी घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नागपूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएर गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्