बाढीले मेलम्ची खानेपानी प्रभावित, संसदमा प्रश्नः काठमाडौंबासीले कहिले पाउँछन् पानी?

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ०९


प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ।

बैठकको शून्य समयमा नेकपा एमालेका सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ।

यस्तै नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गरे भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गरे।

त्यस्तै सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गरिन्। सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौँदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गरिन्।


प्रतिक्रिया दिनुहोस्