लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको दाबी पेस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : ३२


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीले आज दाबी पेस गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए।

माओवादी केन्द्र र काँग्रेसले आलोपालो सरकार चलाउने हिजै तय भएको थियो। जसअनुसार आगामी फागुन १ गतेसम्म माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने छन् भने फागुन २ गतेदेखि बाँकी कार्यकाल कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ।

त्यसकारण आजै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

बहुमत ४२ सांसदको हस्ताक्षर बुझाउँदै केसीले दाबी पेस गरेका छन्। कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना मुख्यमन्त्री बन्ने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस्