‘प्रचण्डका कारण एमसीसी र चीनले सीमा अतिक्रमण गरेको विषय समेटिएन’

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ११ : ०७


प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण एमसीसी र चीनले नेपालको भूमि अतिक्रमण गरेको विषय सरकारको साझा न्यूनतम कार्यक्रममा नसमेटिएको बताएका छन्।

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले प्रश्न गरेपछि देउवाले प्रचण्ड तयार नभएपछि सरकारको कार्यक्रममा एमसीसी र चिनियाँ अतिक्रमणबारे केही उल्लेख नगरिएको देउवाले जानकारी दिएका हुन्।

निधिले पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिएका थिए।

देउवाले उत्तरमा भनेका छन्,‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्।’ यस्तै महामन्त्री पूर्णबहादुर खड्काले भने असन्तुष्ट नेताहरुलाई आश्वस्त पार्न चिनियाँ अतिक्रमणबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताएका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन्। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अनुमोदनको पक्षमा छन्। मंगलबारको संसद बैठकमा पनि उनले एमसीसीबारे सरकारसँग प्रश्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस्