लुम्बिनीमा विपक्षी गठबन्धनले १० बजे सरकारको दाबी गर्ने, आजै सानो आकारको मन्त्रिमण्डल गठन गरिने

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ५४


लुम्बिनी प्रदेशले आज नयाँ सरकार पाउँदैछ। प्रदेश प्रमुख प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बुधबार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयबाट आज दिउँसो तीन बजेभित्र दाबी पेस गर्न भनिएको छ।

विपक्षी गठबन्धन सरकारको दाबी गर्न बिहान १० बजे नै प्रदेश प्रमुख कार्यालयमा पुग्ने भएको छ। आजै सानो आकारको मन्त्रिमण्डल बन्ने कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले बताए।

‘कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबाट १÷१ मन्त्री बन्ने निश्चित छ। अरु थप मन्त्री पनि आज नै बनाउनेबारे हामी छलफल पनि गर्छौं’, कनौडियाले भने।

विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ। विपक्षी गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकजुट भएका छन्।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।

एमाले भने सरकारको दाबी नगर्ने भएको छ। विशेष अधिवेशन नै असंवैधानिक तरिकाले बोलाइएको एमालेको दाबी छ। त्यसविरुद्ध एमाले सांसद लिला गिरीले सर्वोच्च अदालतमो मुद्दा दायर गरेका थिए। उक्त मुद्दा विचाराधिन छ।

अदालतले समयमा फैसला नगरेर समस्या पारेको एमाले सांसद हरिप्रसाद रिजालले बताए। ‘सांसद किनबेच गर्ने, होटलमा राख्ने कार्य हामी गर्दैनौं। अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस्