पुरै नेपाल उज्यालो बनाउने कुलमानको योजना, भन्छन्ः यसपटक पनि निराश बनाउँदिन

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : २४


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कुलमानलाई सोमबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो। बुधबार उनले पदभार सम्हालेका हुन्।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन्। त्यसलाई स्वीकार गरेर आएको छु। मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन। हामी सबै मिलेर काम गरौं। देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ।”

वितरण प्रणालीको सुधार तथा औद्योगिक क्षेत्रमा बिजुली खपत बढाउने योजनाका साथ आफूले काम गर्ने उनको प्रष्टोक्ति छ। यस्तै, बिजुली नपुगेका नागरिकको घरमा बिजुली पुर्‍याउनका लागि सबैका साथ र सहयोग जरुरी रहेको उनको भनाइ छ । हाल ९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क उहाँले पेश गरेका छन्।

बाँकी रहेको स्थानमा पनि एकाध वर्षभित्र बिजुली पुर्‍याउने, तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापाना गर्ने आफ्नो योजना रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। यस्तै, गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने उउनले स्पष्ट पारे।

देशभित्रै नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने र बढी भएको बिजुली मात्रै भारत तथा बङ्गलादेशको बजारमा पठाउन सकिने उहाँको भनाइ छ।

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनको कार्ययोजना छ। अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो। नयाँ जोशका साथ काम गरौं, काँधमा काँध मिलाएर अगाडि बढौं, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ।”

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उनले अवकाश पाएका थिए।

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई जिम्मेवारी दिएन। मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताउनुभएको थियो ।

उनलाई आज मात्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्तिपत्र दिएका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणी बराबरको सुविधा उपलब्ध गराउने गरी पूणर्कालीन सदस्यका रुपमा नियुक्त गरिएको छ।

प्राधिकरणमा आयोजित पदबहाली समारोहलाई सम्बोधन गर्दै उहाँले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने उल्लेख गर्नुभयो । प्राधिकरण आफैको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्