कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा स्वागत गरियो, कार्यभार सम्हाले

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : २६


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले बुधबार पदभार सम्हालेका छन्।

ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका छन्। उनलाई त्यहाँ भव्यताका साथ स्वागत गरिएको छ।

यसअघि चार वर्षे कार्यकाल पुरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पुनः पदभार सम्हालेका हुन्।

सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई प्राधिकरणमा पुनः नियुक्ति गरेको थियो।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो।

कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ २०७७ मा बिदा भएका थिए। उनको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ २०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो।

घिसिङको पालामा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको थियो। उनी नियुक्त हुँदा २९ भदौ २०७३ मा २६ प्रतिशत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झारेका थिए।


प्रतिक्रिया दिनुहोस्