अविश्वास प्रस्तावमाथि छलफल हुन अगावै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : १८


लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुन अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन्।

प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको थियो। पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो। यसअघि विपक्षी गठबन्धनले गत वैशाख ६ र वैशाख २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए।

प्रदेश सरकार गठन हुँदा विसं २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि विसं २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो।

विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले अविश्वासको पक्षमा मत हाल्ने देखिएपछि पोखरेलले राजीनामा दिएका हुन्।

उता सरकारको समर्थनमा नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य थिए।


प्रतिक्रिया दिनुहोस्