जन्मिँदा एउटा स्याउको तौल जति वजन भएकी शिशु अन्ततः अस्पतालबाट डिस्चार्ज!

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ०७


जन्मिँदा विश्वकै सबैभन्दा सानी शिशु १३ महिनापछि अस्पतालबाट स्वस्थ रुपमा घर फर्किएकी छिन्।

बीबीसीका अनुसार जन्म हुँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो। उनी २५ साता पनि नपुगी जन्मिएकी थिइन्।

त्यसअघि सन् २०१८ मा अमेरिकामा जन्मिएकी एक शिशुको तौल २४५ ग्राम भएको अभिलेख यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीमा छ।

गर्भवती हुँदा यु सुआनककी आमाको रक्तचाप एकदमै बढेर प्री–इक्ल्याप्सीआ नामक समस्या उत्पन्न भएको थियो।

त्यस्तो अवस्थामा महत्त्वपूर्ण अङ्गमा क्षति पुग्नसक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने हुन सक्थ्यो। त्यसैले शल्यक्रिया गरेर भर्खर विकास भइरहेको शिशुलाई गर्भबाट बाहिर निकालिएको थियो।

यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ र उनी स्वस्थ छिन्। सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल एनयूएचका अनुसार जन्मिएको बेला ती बालिका जीवित रहने सम्भावना सीमित थियो।

अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए। चिकित्सकहरूले आफ्नो सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएको र अहिले अस्पतालबाट डिस्चार्च गर्न उपयुक्त भएको बताए।

यु सुआनलाई अझै फोक्सोसम्बन्धी दीर्घ समस्या छ र उनलाई घरमा श्वासप्रश्वासका लागि सहयोग चाहिन्छ। तर एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्