तालिबानद्वारा आठौं प्रान्तीय राजधानी कब्जा, सेना फिर्ता गरेकोमा अमेरिकालाई छैन पश्चाताप

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : १७


पुरै देश आफ्नो हातमा लिएर पहिलेजस्तै सत्तामा आउन चाहने अफगानिस्तानको विद्रोही समूह तालिबानले हालसम्म ८ वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ।

३४ वटामध्ये तालिबानले ८ वटामा नियन्त्रणमा लिएर अन्य प्रान्तीय राजधानीमा पनि आक्रमण जारी राखेका छन्। यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फर्काउँदा आफूलाई पश्चाताप नभएको बताएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेनासहित नेटोमा आवद्ध सेनाहरु फर्किएपछि नै तालिबानले त्यहाँ तिव्र रुपमा आक्रमण गरिरहेको छ। बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउँदै उनले अफगानिस्तानले आफ्नो लागि आफैं लड्नुपर्ने बताए।

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ।

यद्यपी उनले अफगानिस्तानलाई हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए।

संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।

राष्ट्रसङ्घको बालबालिबकासम्बन्धी नियोग युनिसेफले यसै साता बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको बताएको थियो।

मङ्गलवार तालिबानले थप दुईवटा प्रान्तीय राजधानीहरू फराह सहर र पुल–ए–खुम्री आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकारीहरूका अनुसार तालिबानले बाग्लान प्रान्तको राजधानी पुल–ए–खुम्रीस्थित गभर्नर कार्यालयको मुख्य परिसरमा आफ्नो झण्डा फहराएको छ। बीबीसी

यो पनिः छैठौं प्रान्तीय राजधानी पनि तालिबानको कब्जामा, संकटमा अफगानिस्तान

-तालिबानको कारबाहीमा तीन दिनमै २७ बालबालिकाको मृत्यु, युद्धविरामको आह्वान अस्वीकार


प्रतिक्रिया दिनुहोस्