विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमानले आज कार्यभार सम्हाल्दै

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ०७


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले आज कार्यभार सम्हाल्दै छन्।

उनले आज नियुक्तपत्र बुझेर आजै कार्यभार सम्हाल्ने छन्। मन्त्रालयबाट नियुक्तिपत्र बुझेर उनले बिहान ११ बजे प्राधिकरण पुगेर कार्यभार सम्हाल्ने बताइएको छ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई प्राधिकरणमा पुन: नियुक्ति गरेको थियो।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ‍। उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो।

कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ २०७७ मा बिदा भएका थिए । उनको कार्यकालमा सर्वप्रथम काठमाडौं हुँदै देशभर १ जेठ २०७५ मा लोडसेडिङ अन्त्यको घोषणा गरिएको थियो । घिसिङको पालामा विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल भएको थियो । उनी नियुक्त हुँदा २९ भदौ २०७३ मा २६ प्रतिशत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झारेका थिए।

वर्तमान सरकार गठन भएसँगै ऊर्जामन्त्री पम्फा भुसालले प्राधिकरण नेतृत्वसँग असन्तुष्टि देखाउँदै आएकी थिइन्। उनले चुहावट नियन्त्रण गर्न नसकेको, व्यवसायीसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नसकेको विषयमा असन्तुष्टि व्यक्त गरेकी थिइन्। त्यसपछि साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ऊर्जामन्त्री भुसालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा माग गरेकी थिइन् ।

तर, शाक्यले सरकारले उचित ढंगले अर्को जिम्मेवारी दिए स्वीकार गर्ने, तर अपमानपूर्वक हटाइए कानुनी उपचारमा जाने बताएका थिए । त्यसपछि सरकारले शाक्यलाई ऊर्जा आयोगमा व्यवस्थापन गरी घिसिङलाई प्राधिकरणमा नियुक्ति दिएको हो।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा पनि घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न नागरिक दबाब थियो। तर, उनलाई नियुक्त नगरी सरकारले शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो।


प्रतिक्रिया दिनुहोस्