चीनमा क्यानडेली नागरिकले मृत्युदण्डविरुद्ध गरेको अपिल अस्वीकार

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ०१


चीनमा लागुपदार्थ तस्करीको आरोपमा मृत्युदण्डको सजाय पाएका क्यानडेली नागरिकले मृत्युदण्डविरुद्ध अपिल गरेका थिए।

तर उनको अनुरोधलाई चिनियाँ अदालतले अस्वीकार गरेको बीबीसीले जनाएको छ।

सन् २०१४ मा क्यानडेली नागरिक रोवर्ट लोयड स्केलनबर्ग २२७ केजी लागुपदार्थ चीनदेखि अस्ट्रेलिया लैजाने क्रममा गिरफ्तार भएका थिए।

उनलाई सन् २०१८ मा १५ वर्षको जेल सजाय सुनाइएको थियो।

तर जब सोही वर्ष चिनियाँ कम्पनी हुवावेकी अर्थ प्रमुख मेङ वाङ्जुलाई क्यानडामा पक्राउ गरेर अमेरिकी सुपुर्दगी गर्न खोजियो चीनले क्यानडाका रोवर्टलाई मृत्युदण्डको फैसला सुनायो।

हुवावेले अमेरिकी प्रतिबन्ध तोडेको साथै हुवावे चिनियाँ सेनाको जासुसीको माध्यम भएको अमेरिकी आरोप छ। सोही विषयमा अनुसन्धान गर्न वाङ्जु अझै पनि क्यानडामा नजरबन्दमा छिन्।

वाङ्जुलाई क्यानडाले छाडेको खण्डमा भने चीन क्यानडेली नागरिकसँग नरम हुने अनुमान गरिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्